
नृत्य प्रतिभाहरूलाई मञ्च प्रदान गर्ने उद्देश्यले आयोजित ‘उदयपुर डान्स च्याम्पियन सिजन–२’ को पहिलो अडिसन कटारीमा उत्साहजनक रूपमा सम्पन्न भएको छ । उदयपुर डान्स स्टुडियो बेलटारको आयोजनामा मङ्सिर १३ गते कटारीस्थित उद्योग वाणिज्य सङ्घको भवनमा भएको अडिसनबाट २८ जना प्रतिस्पर्धी ‘मेगा अडिसन’ का लागि छनोट भएका हुन् ।
कटारीबाट सुरु भएको अडिसनमा कुल ६५ जनाले सहभागिता जनाएका थिए । आयोजकका अनुसार यस पटकको सिजनमा सिजन–१ को तुलनामा निकै बृहत् सहभागिता देखिएको छ । कटारी अडिसनमा उदयपुरका स्थानीय मात्र नभई छिमेकी जिल्ला सिन्धुलीको दुधौलीबाट समेत नृत्यकर्मीहरूले सहभागिता जनाएका थिए । प्रतियोगिताको निर्णायक मण्डलमा दिनेश लामा, निमेश राई, ऋतु चाम्लिङ राई, दीप चन्द लामा र सुरेश थारु रहेका थिए । कार्यक्रमको सञ्चालन देविका श्रेष्ठले गरेकी थिइन् ।
पहिलो चरणको अडिसन सम्पन्न भएसँगै आयोजकले मङ्सिर १९ गते मुर्कॅचीमा अर्को अडिसन हुने जानकारी दिएको छ । स्टुडियोले जिल्लाभरका नृत्यमा रुचि राख्ने प्रतिभाहरूलाई अडिसनका लागि तयारी अवस्थामा रहन आग्रह समेत गरेको छ ।प्रतियोगिताका अडिसन तथा अन्य गतिविधिहरू ‘उदयपुर डान्स च्याम्पियन सिजन–२’ को आधिकारिक युट्युब च्यानलमार्फत प्रसारण गरिने आयोजकले जनाएको छ ।

