उदयपुर, जेठ २१ गृहगुप्तचर ।
“भेदभावको अन्त्य गरौँ, सामाजिक न्याय सुनिश्चित गरौँ” भन्ने मूल नाराका साथ उदयपुरको ताप्ली गाउँपालिकामा बुधबार जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस २०८३ विविध कार्यक्रमका साथ मनाइएको छ।
दलित समाज विकास सञ्जालको आयोजना तथा ताप्ली गाउँपालिकाको सहयोगमा आयोजित दिवसको अवसरमा ताप्ली गाउँपालिका–५ जमिनटारबाट नौमती बाजाको सांगीतिक धुनसँगै सचेतनामूलक र्याली निकालिएको थियो। जातीय विभेद र छुवाछुत अन्त्यका सन्देश बोकेका विभिन्न प्लेकार्ड तथा नारासहित स्थानीयवासी, जनप्रतिनिधि, सामाजिक अभियन्ता, बुद्धिजीवी तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको र्याली गाउँपालिका भवन परिसरमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो।
कार्यक्रममा बोल्दै ताप्ली गाउँपालिकाका अध्यक्ष ढुंगराज विश्वकर्मा ले संविधानले सुनिश्चित गरेको समानता, सामाजिक न्याय र मानव अधिकारलाई व्यवहारमा उतार्न अझै सामूहिक प्रयास आवश्यक रहेको बताए। उनले जातीय भेदभाव र छुवाछुतजस्ता अमानवीय अभ्यास समाज विकासका बाधक भएकाले यस्ता कुरीतिविरुद्ध सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए।
अध्यक्ष विश्वकर्माले गाउँपालिकाले दलित समुदायको हक, अधिकार र सशक्तीकरणलाई संस्थागत गर्न दलित सशक्तीकरण ऐन निर्माण गरी कार्यान्वयनको चरणमा पुर्याएको जानकारी दिँदै उक्त ऐनले दलित समुदायको सामाजिक, आर्थिक तथा राजनीतिक सहभागिता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत सन्तोष भट्टराई ले कानुनी रूपमा छुवाछुत दण्डनीय अपराध भए पनि सामाजिक व्यवहारमा अझै विभिन्न स्वरूपमा विभेद कायम रहेकाले चेतना र व्यवहार परिवर्तन अपरिहार्य रहेको बताए। उनले समानता र समावेशी विकासको अवधारणालाई स्थानीय तहको नीति तथा कार्यक्रममा प्रभावकारी रूपमा कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा वडा नं. ३ का अध्यक्ष रंगमान तामाङ, वडा नं. ५ का अध्यक्ष विष्णुकुमार श्रेष्ठ, दलित आन्दोलनका अगुवा, समाजसेवी, स्थानीय बुद्धिजीवी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले मन्तव्य राख्दै जातीय विभेदविरुद्धको संघर्ष केवल दलित समुदायको मात्र नभई सम्पूर्ण समाजको साझा अभियान भएको बताएका थिए।
वक्ताहरूले संविधान र कानुनले छुवाछुतलाई निषेध गरे पनि व्यवहारिक रूपमा अझै विभिन्न क्षेत्रमा विभेदका घटना देखिने गरेको उल्लेख गर्दै शिक्षा, सचेतना, कानुनी कार्यान्वयन र सामाजिक रूपान्तरणलाई एकसाथ अघि बढाउनुपर्ने आवश्यकता औँल्याए। उनीहरूले समान अवसर, सम्मानजनक जीवन र न्यायमा सबै नागरिकको समान पहुँच सुनिश्चित नभएसम्म वास्तविक सामाजिक न्याय स्थापित हुन नसक्ने धारणा व्यक्त गरे।
कार्यक्रमको अध्यक्षता दलित समाज विकास सञ्जालका अध्यक्ष हरि लगुन ले गरेका थिए। अध्यक्ष लगुनले जातीय विभेदमुक्त समाज निर्माणका लागि राज्य, स्थानीय सरकार, नागरिक समाज र समुदायबीच सहकार्य आवश्यक रहेको बताउँदै दलित समुदायको अधिकार, सम्मान र समान सहभागिताका लागि सञ्जाल निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाए।
दिवसका अवसरमा सहभागीहरूले जातीय भेदभाव तथा छुवाछुत मानव अधिकारविरुद्धको गम्भीर अपराध भएको उल्लेख गर्दै समानता, सहअस्तित्व र सामाजिक सद्भावमा आधारित समाज निर्माणका लागि सबै नागरिकले आफ्नो ठाउँबाट योगदान दिनुपर्नेमा जोड दिएका थिए।
२०६३ साल जेठ २१ गते नेपाललाई जातीय छुवाछुतमुक्त राष्ट्र घोषणा गरिएको ऐतिहासिक दिनको स्मरणमा हरेक वर्ष यो दिवस मनाइँदै आएको छ। ताप्लीमा आयोजित कार्यक्रमले विभेदरहित, समावेशी र न्यायपूर्ण समाज निर्माणप्रति स्थानीय तहको प्रतिबद्धतालाई थप सशक्त रूपमा उजागर गरेको सहभागीहरूले बताएका छन्।






