गाइघाट । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि उदयपुर जिल्लाबाट प्रतिनिधि छनोट प्रक्रिया सम्पन्न भएको छ । निर्वाचन क्षेत्र नम्बर १ र २ मा भएको मतदान मार्फत खुला, महिला, युवा तथा दलित क्लस्टर गरी कुल १४ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन ।
सार्वजनिक अन्तिम मत परिणाम अनुसार दुवै क्षेत्रमा कडा प्रतिस्पर्धा देखिएको थियो । सदरमुकाम गाईघाट समेत पर्ने निर्वाचन क्षेत्र नं. १ को खुलातर्फ ४ जना प्रतिनिधिको लागि भएको निर्वाचनमा कालुमान लामा सर्वाधिक १ हजार १ सय ६७ मत ल्याएर विजयी भएका छन्। यस्तै, परमेश्वर घिमिरेले १ हजार १ सय ६५ र भागवत राउतले १ हजार १ सय ४५ मत प्राप्त गरी विजयी भए। चौथो नम्बरमा दुर्गा कुमार थापा (स्वस्ति) ९ सय ९७ मतका साथ निर्वाचित भएका छन्।
महिलातर्फ (२ जना) को लागि भएको प्रतिस्पर्धामा महेश्वरी राईले १ हजार २ सय ८० मतको फराकिलो अन्तरसहित जित हासिल गरिन भने कान्ता राई ७ सय १७ मत ल्याएर विजयी भइन्। युवातर्फको एक सिटका लागि भएको भिडन्तमा सुरेन्द्र राई १ हजार १ सय ४४ मतका साथ विजयी रहे ।
निर्वाचन क्षेत्र नं. २ मा कुल १ हजार ६ सय ४० मत खसेको थियो। खुलातर्फ (३ जना) को लागि भएको निर्वाचनमा अम्बर रायमाझीले अत्यधिक मत प्राप्त गरेका छन्। उनले १ हजार ३ सय ३ मत प्राप्त गरी विजय हासिल गरे। यस्तै ज्ञानेन्द्र श्रेष्ठ ६ सय ३७ मत र जीवनाथ दाहाल ५ सय ५१ मत ल्याएर महाधिवेशन प्रतिनिधिमा चुनिएका छन्।
महिलातर्फ गीता खड्का (८७० मत) र कुमारी आले (८४९ मत) विजयी भएका छन्। युवातर्फको प्रतिस्पर्धामा हेम खड्काले ६ सय ८९ मत ल्याएर बाजी मारे।
दलित क्लस्टरका लागि लालबहादुर रम् तेल प्रतिनिधिमा छनोटमा परका छन ।

तपाईको प्रतिक्रिया