एआई तालिम:

‘सही प्रयोगले समाज रूपान्तरण, दुरुपयोगले संकट’

लहान । विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा एआई प्रयोगकर्ताले  (एआई)लाई सामाजिक रूपान्तरणका लागि सकारात्मक रूपमा उपयोग गर्नुपर्नेमा जोड दिएका छन्। आमसञ्चार प्राधिकरण मधेश प्रदेशको आयोजना र नेपाल पत्रकार महासंघ सिराहाको समन्वयमा बिहीबार लहानमा एकदिने एआई तालिम सम्पन्न भयो।

कार्यक्रममा मधेश प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री सञ्जयकुमार यादवले एआई र सामाजिक सञ्जालको तीव्र प्रभावले विश्वभरका चुनाव र सामाजिक धारणा प्रभावित बनाइरहेको उल्लेख गरे। उनले गलत सूचना र भ्रमपूर्ण सामग्रीले नागरिकलाई दिग्भ्रमित पार्ने खतरा बढेकाले सचेत हुनुपर्ने बताए। “सकारात्मक प्रयोगले समाजलाई दिशानिर्देश गर्न सक्छ, तर अफवाह फैलाउने जोखिम उत्तिकै उच्च छ,” उनले भने।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भरत जर्घामगरले सामाजिक सञ्जाल र एआईको बढ्दो प्रभावले वास्तविक समाचार ‘खडेरी’मा परेको टिप्पणी गरे। प्रविधिमा दक्ष नयाँ पुस्ता कन्टेन्ट सिर्जनामा कमजोर देखिएको उल्लेख गर्दै उनले युट्युबरहरूको गतिविधि नियमनका लागि महासंघ प्रेस काउन्सिल र सरकारसँग समन्वयमा निर्देशिका तयार गरिरहेको जानकारी दिए।

महासंघ सिराहा शाखाका अध्यक्ष मनोज बनैता यादवले एआई उपकरणहरू उपयोगी भए पनि पूर्ण विश्वसनीय नभएकाले दुरुपयोगको जोखिम बढ्ने बताए। उनले पत्रकारलाई ‘एआईको मात्रा होइन, सही प्रयोग र तथ्य–जाँच क्षमतामा जोड दिन’ आग्रह गरे।

आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खड्गाले पत्रकारको समयानुकूल व्यावसायिक विकासका लागि एआई तालिम आवश्यक रहेको बताए। उनका अनुसार सप्तरीबाट सुरु भएको तालिम सिराहासहित मधेश प्रदेशका सबै जिल्लामा सञ्चालन हुँदै छ। तालिममा जीवन भण्डारी र प्रकाश मैनालीले एआईका आधारभूत प्रयोग, सम्भावित जोखिम र अवसरबारे सहजीकरण गरे।

तपाईको प्रतिक्रिया