गाईघाट । त्रियुगा नगरपालिकाको भाषा, साहित्य, कला, संस्कृति, इतिहास तथा स्थानीय ज्ञानको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले गठित त्रियुगा प्रज्ञा प्रतिष्ठानको पहिलो बैठक सम्पन्न भएको छ।
अध्यक्ष राममणि पोखरेलको अध्यक्षतामा बसेको बैठकले प्रतिष्ठानको संस्थागत गतिविधि अघि बढाउने, मौलिक पहिचान झल्किने लोगो तथा स्लोगन निर्माण गर्ने र वार्षिक कार्ययोजना तयार गर्ने निर्णय गरेको छ।
बैठकले प्रतिष्ठानअन्तर्गत भाषा तथा साहित्य, कला तथा संस्कृति, इतिहास तथा पुरातत्त्व, अनुसन्धान तथा प्रकाशन, बाल तथा युवा सिर्जना र अभिलेख तथा डिजिटल स्रोत गरी ६ वटा विभाग गठन गरी संयोजकसमेत तोकेको छ। प्रतिष्ठानले आगामी कार्यक्रमलाई व्यवस्थित र परिणाममुखी बनाउन वार्षिक कार्ययोजना तयार गरी असोज १९ गते बस्ने परिषद् बैठकमा पेश गर्ने निर्णय गरेको छ।
बैठकमा प्रतिष्ठानका अध्यक्ष, उपाध्यक्ष, सचिव, प्राज्ञ परिषद्का सदस्य तथा विभिन्न विभागका पदाधिकारीहरूको सहभागिता रहेको थियो।






