उदयपुर । उदयपुर क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बलदेव चौधरीले सामाजिक सञ्जालमार्फत आफु विरुद्ध फैलाइएको भ्रामक सूचना प्रति गम्भीर आपत्ति जनाएका छन् ।
जारी प्रेस विज्ञप्तिमा उनले मोटिभेट न्यूज र ‘हाम्रो उदयपुर नामक सामाजिक सञ्जालका पेजमार्फत तथ्यहीन, भ्रामक तथा मनगढन्ते सामग्री प्रकाशन गरी जनमत प्रभावित पार्ने प्रयास भएको उल्लेख गरेका छन् । आफ्नो उम्मेदवारीलाई लक्षित गरी आधारहीन आरोप लगाइएको, कानुनी तथा संवैधानिक व्यवस्थाको गलत व्याख्या गरिएको र जनतालाई भड्काउने उद्देश्य राखिएको सूचना पूर्णतः असत्य र निराधार रहेको उनको दाबी छ ।
चौधरीले लोकतन्त्रमा सत्य, तथ्य र जिम्मेवार अभिव्यक्तिको महत्व स्मरण गराउँदै यस्ता संवेदनशील विषयमा गैरजिम्मेवार ढंगले भ्रम फैलाउनु लोकतान्त्रिक मूल्य–मान्यताको विरुद्ध भएको बताए । साथै, सम्बन्धित सञ्चार माध्यम तथा सामाजिक सञ्जाल सञ्चालकलाई यस्ता भ्रामक सामग्री तत्काल हटाई सार्वजनिक रूपमा स्पष्टिकरण र क्षमायाचना गर्न आग्रह गरेका छन् ।
उनले आगामी दिनमा यस्ता गतिविधि दोहोरिए कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने चेतावनी समेत दिएका छन् । साथै उदयपुर क्षेत्र नं. १ का सम्पूर्ण मतदाता, शुभेच्छुक र आम नागरिकलाई भ्रममा नपरी आधिकारिक तथा विश्वसनीय स्रोतबाट प्राप्त सूचनामा मात्र विश्वास गर्न अपिल गरेका छन् ।
प्रेस विज्ञप्तिमा सामाजिक सञ्जालमा ‘विजय भए पनि संसदमा सहभागी हुन नपाइने भन्ने हल्ला पूर्णतः गलत रहेको उल्लेख गर्दै संविधान र कानुनअनुसार निर्वाचित प्रतिनिधि संसदमा सहभागी हुने स्पष्ट अधिकार रहेको प्रस्ट्याइएको छ । यस्ता हल्लाले विपक्षीको हातमा खेल्ने र जनमत भ्रमित बनाउने काम गरिरहेको उनको भनाइ छ ।
उम्मेदवार चौधरीले आफू जनताको विश्वासका साथ निर्वाचनमा होमिएको उल्लेख गर्दै मतदानमार्फत विजयी गराउने कुरामा पूर्ण विश्वस्त रहेको बताएका छन् ।






