जलजले, जेठ ८ । विगत १४ महिनादेखि तलबभत्ता खान नपाएका उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि)का कर्मचारी मजदुरहरु आन्दोलित भएका छन् । शुक्रबार विहान ११ः०० वजे उद्योग प्रवेशद्वार बाहिरै पत्रकार सम्मेलन गर्दै मजदुर कर्मचारी आन्दोलन थालेका हुन् ।
तलबभत्ता पाउन संघर्ष समिति गठन गरेका उनीहरुले खाईपाई खाएको कर्मचारीको तलबभत्ता र ज्यालादारी मजदुर र सुरक्षाकर्मीको पारिश्रमिक पाउन आन्दोलन गर्न बाध्य भएको बताएका छन् । पत्रकार सम्मेलनमा कर्मचारी मजदुर संघर्ष समितिका प्रवक्ता आनन्द कुर्मीले गएको १४ महिनादेखि उद्योगका कार्यरत सबै कर्मचारी मजदुरले तलबभत्तालगायत कुनै सेवासुविधा नपाएको दुःखेसो गरे । कुर्मीले यति लामो समयदेखि तलबभत्ता नपाउँदा आर्थिक अभावका कारण जीवन यापन गर्न तथा परिवार चलाउन अत्यन्त कठिन भईरहेको बताए । सम्बन्धित उद्योग विभाग, तालुक मन्त्रालय र जिम्मेबार व्यक्तिहरुसम्म पुगेर पटकपटक कुरा राख्दा पनि तलबभत्ता नपाएको बताउँदै कुर्मीले त्यसकारण कर्मचारी मजदुर र जहान छोराछोरी भोकभोकै बस्न बाध्य भएको गुनासो गरे ।
संघर्ष समितिका अनुसार गएको ४५ महिनादेखि तलबभत्ताबाट कट्टा गरेको सञ्चयकोष र ३५ महिनाको नागरिक लगानी कोष तथा ३ वर्षको बिमावापतको रकम हालसम्म जम्मा गरिएको छैन । त्यस्तै अवकाश पाएका १ सय ३९ जना कर्मचारी मजदुरको निबृत्ति भरण (उपदान) भुक्तानी गरिउको छैन भने अवकाशप्राप्त पूर्वकर्मचारीमध्ये ८ जना विरामी पर्दा उपचार गर्ने खर्चसमेत नपाएर मृत्युवरण गर्नुपरेको दुःखद अवस्था रहेको छ ।
संघर्ष समितिका संयोजक देवेन्द्र झाले कार्यरत कर्मचारी मजदुरहरुको दायित्व विवरणबारे जानकारी दिदै २०८२ चैत मसान्तसम्म ८ करोड ८० लाख ५३ हजार ०६६ रुपैँया तलबभत्ता बाँकी रहेको बताए । त्यस्तै सञ्चयकोष ९ करोड ५० लाख ८९ हजार १ सय ३४ दाखिला गर्त बाँकी रहेको छ भने नागरिक लगानी कोषवापतको रकम ३ करोड ६९ लाख ६६ हजार २ सय २२ रुपैँया बाँकी छ ।
०८० र ८१ को २ वर्षको बिमा रकम ६ करोड ७० लाख बाँकी छ भने सुरक्षाकर्मीको १३ महिनाको तलबभत्ता २ करोड १३ लाख बाँकी रहेको जानकारी दिइएको छ ।
जापान सरकारको अनुदान सहयोगमा २०४४ जेठ ३१ गते स्थापना भई ०४९ साल माघदेखि गैँडा ब्राण्डको व्यवसायिक उत्पादन सुरु गरेको उद्योग विगत ३ वर्षयता सञ्चालन अनियमित हुँदै केही समययता पूर्णरुपमा ठप्प भएको संघर्ष समितिका चक्र कार्कीले बताए ।
दैनिक ८ सय मेट्रिकटन क्लिंकर उत्पादन क्षमता रहेको उद्योग बन्द भएसँगै कार्यरत कर्मचारी मजदुर तलबभत्ता खान नपाएर आन्दोलित हुनु परेको हो । अर्का कर्मचारी शंकर थापाले केही समयअघि २ साता उद्योग चल्दा उत्पादन भएको केही परिमाणको क्लिंकर पनि बोरा अभावमा बिक्री गर्न रोकिएको छ । उद्योग सञ्चालन गर्ने सामान्य खर्चसमेत नभएपछि बोरा खरिद गर्नै नसकेर सिमेन्ट बिक्री रोकिनेसम्मको निरीह अवस्था उद्योगले पहिलो पटक भोगेको थापाले बताए ।







