लहान | लहानस्थित प्रादेशिक अस्पतालमा परीक्षणका लागि राखिएको एक किशोरीको शव गम्भीर लापरबाहीका कारण अर्कै परिवारलाई बुझाइयो र अन्ततः अन्त्येष्टिसमेत गरियो। गोलबजार नगरपालिका–३, जम्दहकी १६ वर्षीया निशा बानियाँ शनिबार आत्महत्या गरेको भनिएपछि पोस्टमार्टमका लागि अस्पतालमा राखिएकी थिइन्। तर अस्पतालको व्यवस्थापकीय कमजोरीका कारण उनको शव अर्कै परिवारले लिएर अन्त्येष्टि गरिदिएको तथ्य खुलेको छ।
मृतक निशाका आमाबुबा रोजगारीका लागि विगत दुई वर्षदेखि भारतको मुम्बईमा थिए। छोरीको मृत्युको खबर पाउनासाथ नेपाल फर्किएका उनीहरू आज बिहान अन्तिम संस्कारका लागि अस्पताल पुगे, तर त्यहाँ छोरीको शव भेटिएन। अस्पताल प्रशासनसँग बुझ्दा सोही समयमा सप्तरीकी अर्की समान उमेरकी किशोरीको शव पनि परीक्षणका लागि राखिएको र उनका आफन्तले आइतबार झुक्किएर निशाको शव लगेर सोही दिन अन्त्येष्टि गरिसकेको खुलेको हो।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जित झा ले शव व्यवस्थापनमा ‘कोडिङ’ नगरिँदा यस्तो गम्भीर गल्ती भएको स्वीकार गरेका छन्। उनले भने, “यो अस्पताल प्रशासनको गम्भीर लापरबाही हो। छानबिन गरेर दोषीमाथि कारबाही हुन्छ।”
छोरीको अन्तिमपटक अनुहारसमेत देख्न नपाएपछि मृतकका बुबा पूर्णबहादुर बानियाँ भावविह्वल भए। उनको पीडा यस्तो थियो “छोरीलाई जोगाउन सकिएन, जिउँदो हुँदा देख्न पाइएन। कम्तीमा लास त हेर्न पाइएला भनेर देश फर्कियौँ, त्यो पनि अस्पतालले सम्भव हुन दिएन।” घटनापछि आक्रोशित आफन्त र स्थानीयले इलाका प्रहरी कार्यालय गोलबजार घेराउ गर्नुका साथै लहान अस्पताल परिसरमा प्रदर्शन गरे। त्यसक्रममा पूर्व–पश्चिम राजमार्गसमेत अवरुद्ध गर्दै दोषीलाई कारबाही र न्यायको माग गरिएको छ।
इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक कैलाश राई का अनुसार पीडित परिवार, अस्पताल प्रशासन र सरोकारवालाबीच वार्ताको तयारी भइरहेको छ। प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको जनाएको छ।






