उदयपुर । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विकलाई न्याय माग्दै सदरमुकाम गाइघाटमा विरोध प्रदर्शन भएको छ ।
न्यायका निम्ती दीप प्रज्वलन गरी सहभागीहरूले ‘इनिसा विकलाई न्याय दे, बलात्कारीलाई फाँसी दे, जात व्यवस्था मुर्दावाद, बलात्कारीलाई कारबाही गर, पितृसत्ता मुर्दावादलगायत नारा लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । हाम्राे दाजुभाइ समूहले बिहीबार घटनाको निष्पक्ष छानबिनको माग गर्दै गाइघाट बजारमा प्रदर्शन गरेको हो ।
सुर्खेतको गुर्भाकोट–६ बडाखोलीकी इनिसाको फागुन २३ गते बिहान वीरेन्द्रनगर–४ शहीद पार्क नजिकको जनजागरण सामुदायिक वनमा बलात्कारपछि हत्या भएको थियो । सामूहिक बलात्कारपछि हत्या भएको भन्दै मृतकका आफन्तहरूले फागुन २५ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका थिए ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरू चारै जना १८ वर्ष मुनिका रहेका प्रहरीले जनाएको छ । सुर्खेत प्रहरीले फागुन २३ गते दिउँसो नै एक १६ वर्षीय किशोरलाई पक्राउ गरेको थियो ।
थप अनुसन्धानका लागि फागुन २४ गते अरू तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया