उदयपुरमा राष्ट्रिय न्वाङ्गी (नेमान) पर्व तथा दोस्रो दनुवारी खाना–परिकार तथा सांस्कृतिक उत्सव भव्य रूपमा आयोजना हुने भएको छ। दनुवार जागरण समिति, त्रियुगा नगर समिति तथा उत्सव मूल आयोजक समितिको संयुक्त आयोजनामा यहि मंसिर २५ गतेदेखि तीन दिनसम्म बैरेनीचौरमा उत्सव हुँदैछ।

मंसिर २५ गते दनुवार समुदायको मुख्य पर्व न्वाङ्गीलाई राष्ट्रव्यापी रूपमा आधिकारिक कार्यक्रमका साथ सार्वजनिक गर्दै सामूहिक पूजा गरिनेछ। सो दिन त्रियुगा नगरपालिकाले स्थानीय विदा दिने जनाएको छ।
तीन दिनसम्म चल्ने उत्सवमा दनुवार समुदायको ऐतिहासिक, सांस्कृतिक तथा राष्ट्रिय महत्त्वलाई उजागर गर्दै विविध कार्यक्रम प्रस्तुत गरिनेछन्। दनुवार समुदायको विशिष्ट कला, संस्कृति, परम्परागत पहिरन, नृत्य तथा खानालाई प्रोत्साहन र राष्ट्रिय पहिचानमा उकास्ने उद्देश्यले आयोजना गरिने जनाएका छन ।
यस उत्सवमा निम्न आकर्षण रहनेछन्—
-
परम्परागत न्वाङ्गी संस्कार
-
बृहत् सांस्कृतिक मोटरसाइकल र्याली
-
ओपनफेस्ट भिलेज वातावरण
-
तीनदिने सांस्कृतिक महोत्सव
-
दनुवारी परिकार प्रदर्शनी
-
जातीय झाँकी प्रदर्शन
-
नृत्य प्रतियोगिता
-
राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति
आयोजक समितिका अनुसार नेपालकै सांस्कृतिक विविधता, सामुदायिक एकता र साझा पहिचानको प्रतीकका रूपमा यस पर्वलाई सफल बनाउन तयारी तीव्र गतिमा भइरहेको छ।
दनुवार समुदायले न्वाङ्गी पर्वलाई नयाँ अन्न अर्पण, पूर्वजप्रतिको सम्मान, धर्म, संस्कृति र कृषि परम्पराको पवित्र प्रतीकका रूपमा लिने गर्छन्। साथै, यो पर्व समुदायको अस्तित्व, पहिचान, सभ्यता र सांस्कृतिक निरन्तरता प्रतिनिधित्व गर्ने महत्वपूर्ण ऐतिहासिक धरोहर मानिन्छ।





