मोटरसाइकलमै अस्पताल पुर्‍याए वडा अध्यक्षले

लाहान । सिरहाको धनगढीमाई नगरपालिका–१२ सिमलटोकीस्थित मुसहर बस्तीमा मानवीयता बोल्ने एउटा दृश्य देखियो। अतिविपन्न र शारीरिक रूपमा अशक्त एक महिलाको हात भाँचिएको खबर पाउनेबित्तिकै वडा अध्यक्ष जयप्रकाश ठाकुर उपचारको सहारा लिएर आफैं घटनास्थल पुग्नुभयो।

घर निर्माणका क्रममा सिमेन्टको पिलर ढल्दा गम्भीर घाइते भएकी ती महिलाका लागि न एम्बुलेन्स थियो, न औपचारिक सवारी साधन। तर, संकटको घडीमा अध्यक्ष ठाकुरले कुनै बहाना खोज्नुभएन। उहाँले महिलालाई आफ्नै मोटरसाइकलमा राखी अस्पताल पुर्‍याउनुभयो र चिकित्सकको निगरानीमा तत्काल उपचारको व्यवस्था मिलाउनुभयो।

केही दिनअघि स्थानीय समाजसेवी तथा संघ–संस्थाको सहयोगमा ती महिलाका लागि घर निर्माण सुरु गरिएको थियो। दुर्घटनापछि अध्यक्ष ठाकुरले देखाउनुभएको सक्रियता र संवेदनशीलताले स्थानीय बासिन्दालाई भावुक बनाएको छ। “जनप्रतिनिधि भनेको यही हो,” एक स्थानीयले भने, “आवाजविहीन र कमजोरको पीडामा यसरी साथ दिने नेतृत्व आज दुर्लभ बन्दै गएको छ।”

वडा अध्यक्ष ठाकुरको यो कदमले जनप्रतिनिधिको भूमिकाबारे मात्र होइन, समाजमा मानवीय सेवा र उत्तरदायित्वबारे पनि सशक्त सन्देश दिएको स्थानीयहरूको भनाइ छ।

तपाईको प्रतिक्रिया