०९८उदयपुरगढीदेखि चौदण्डिगढीसम्म नेपाली सेनाको सातदिने यात्रा

उदयपुर । इतिहास, भूगोल र राष्ट्रिय चेतनालाई एकैसाथ जोड्ने उद्देश्यसहित नेपाली सेनाले उदयपुरमा फेरि एकपटक ऐतिहासिक पदयात्रा आयोजना गर्ने भएको छ । नेपाली सेनाको पशुपती प्रसाद गणको आयोजनामा आगामी पौष २१ देखि २७ गतेसम्म उदयपुरको ऐतिहासिक उदयपुरगढीदेखि चौदण्डिगढीसम्म सातदिने पदयात्रा सञ्चालन हुने भएको हो ।

अघिल्लो वर्षदेखि सुरु गरिएको यस अभियानलाई निरन्तरता दिने उद्देश्यका साथ यस वर्ष पनि पदयात्रा आयोजना गर्न लागिएको सेनाले जनाएको छ । इतिहासमा रहेका गढी–किल्लाको संरक्षण, पर्यटन प्रवद्र्धन तथा नयाँ पुस्तामा राष्ट्रप्रेम र ऐतिहासिक चेतना विकास गर्ने लक्ष्यसहित पदयात्रा सञ्चालन हुन लागेको हो । पदयात्रालाई सफल र व्यवस्थित बनाउन मंगलबार प्रारम्भिक चरणमै सरोकावालाहरूसँग समन्वय बैठक सम्पन्न गरिएको छ । बैठकमा स्थानीय तह, सुरक्षा निकाय, पर्यटन व्यवसायी, पत्रकार तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

सेनाले अघिल्लो वर्ष तत्कालीन गणपति प्रमुख सेनानी शिव वाग्लेको कार्यकालमा सुरु गरेको यो अभियानलाई निरन्तरता दिन लागेको हो । सेनाले ऐतिहासिक सम्पदाको संरक्षणमा मात्र होइन, स्थानीय समुदायसँग सहकार्य गर्दै सामाजिक–सांस्कृतिक अभियानको रूपमा यस पदयात्रालाई विकास गर्दै आएको जनाएको छ ।

पौष २१ गते उदयपुरगढीबाट सुरु हुने पदयात्रा पौष २७ गते चौदण्डिगढीमा पुगेर समापन हुनेछ । यात्राको क्रममा उदयपुरगढी गाउँपालिकाको डुम्रे, डुम्रे भञ्ज्याङ, दुवारे भञ्ज्याङ, रौतामाई गाउँपालिकाको रानिवास, त्रियुगा नगरपालिकाको साउने, चौदण्डिगढी नगरपालिकाको विरेन्द्र बजार हुँदै अन्तिम गन्तव्य चौदण्डिगढी पुग्ने तय गरिएको छ ।

यस पदमार्गले ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक रूपमा महत्त्वपूर्ण क्षेत्रहरूलाई जोड्ने भएकाले आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।

नेपाली सेनाको पशुपती प्रसाद गणका गणपति प्रमुख सेनानी मनोज कार्कीका अनुसार पदयात्राको मुख्य उद्देश्य ऐतिहासिक गढीहरूको संरक्षण, पर्यापर्यटनको विकास र नयाँ पुस्तालाई इतिहास, भूगोल तथा नैतिक शिक्षाबारे प्रत्यक्ष अनुभव गराउनु हो ।

“पदयात्रा केवल हिँडाइ मात्र होइन, यो इतिहाससँग साक्षात्कार गर्ने अवसर हो,” प्रमुख सेनानी कार्कीले भने, “यसले युवापुस्तामा राष्ट्रप्रेम, अनुशासन र जिम्मेवारीबोध विकास गर्न सहयोग पु¥याउँछ ।”

सातदिने यात्राको क्रममा पदमार्गमा पर्ने विद्यालयहरूमा विभिन्न प्रतियोगितात्मक कार्यक्रम सञ्चालन गरिने योजना छ । कविता, निबन्ध, हाजिरीजवाफ लगायतका कार्यक्रममार्फत विद्यार्थीहरूलाई इतिहास र राष्ट्रबारे सिकाउने प्रयास गरिनेछ । ती कार्यक्रमहरूको व्यवस्थापन र सहकार्य स्थानीय पालिकाहरूले गर्ने जनाइएको छ ।

पदयात्रालाई थप आकर्षक बनाउन यस वर्ष नेपाली सेनाको ऐतिहासिक कालो पोसाकमा सैनिकहरू सहभागी गराउने योजना समेत बनाइएको छ । यसले ऐतिहासिक कालखण्डको झल्को दिने मात्र होइन, सर्वसाधारणमा इतिहासप्रतिको चासो अझ बढाउने विश्वास सेनाको छ ।

नेपाली सेनाले यस पदयात्रामा सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि, कर्मचारी, पत्रकार, पर्यटन व्यवसायी तथा स्थानीय नागरिकहरूलाई सहभागी हुन आग्रह गरेको छ। पदयात्रालाई सफल बनाउन विभिन्न चरणमा बैठक, प्रचार–प्रसार तथा समन्वयको काम अघि बढाइने जनाइएको छ ।

विशेष रूपमा पौष २७ गते राष्ट्रिय एकता दिवसको अवसर पारेर चौदण्डिगढीमा पदयात्रा समापन गरिनेछ । यसले पदयात्रालाई केवल स्थानीय कार्यक्रम नभई राष्ट्रिय भावनासँग जोडिएको अभियानका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ ।

इतिहास बोकेका गढीहरू जोड्दै अघि बढ्ने यो पदयात्राले उदयपुरको पहिचान, पर्यटन र राष्ट्रिय चेतनालाई नयाँ उचाइ दिने विश्वास स्थानीयवासीहरूले गरेका छन् । नेपाली सेनाको यो प्रयास इतिहासको संरक्षण मात्र नभई भावी पुस्ताका लागि राष्ट्रप्रेमको पाठ पनि बन्नेछ ।

तपाईको प्रतिक्रिया