उदयपुर । दोस्रो सस्करणको उदयपुर महोत्सव माघ २३ गतेदेखि फागुन ८ गतेसम्म त्रियुगा नगरपालिका–३ त्रियुगा नदी किनारमा आयोजना हुने भएको छ । उदयपुर जिल्लाको कृषि, उद्योग, व्यापार, पर्यटन तथा संस्कृतिलाई एउटै थलोमा जोड्ने उद्देश्यसहित महोत्सव हुन लागेको आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

जिल्ला उद्योग वाणिज्य संघ, उदयपुरको आयोजनामा सञ्चालन हुने महोत्सवको तयारी पूरा भएको जानकारी आयोजकले दिएको छ ।“कृषि, वन, पर्यटन, शिक्षा, कला, संस्कृति, उद्योग र व्यापार उदयपुरको पहिचान र समृद्धिको आधार” भन्ने मूल नारासहित आयोजना गरिने महोत्सव केवल मनोरञ्जनको कार्यक्रम मात्र नभई उदयपुर जिल्लासहित कोशी प्रदेशका किसान, उद्योगी, व्यवसायी, सहकारी, महिला तथा युवा उद्यमीका उत्पादनलाई एउटै थलोमा प्रदर्शन, प्रवद्र्धन र बजारीकरण गर्ने साझा मञ्च हुने बताइएको छ ।

१५ दिनसम्म चल्ने महोत्सवमा जम्मा २०० वटा स्टल रहनेछन् । जसमा कृषि तथा घरेलु उद्योग प्रदर्शनी, होटल तथा अटोमोबाइल स्टल, महिला तथा युवा उद्यमीका स्टल, पर्यटन प्रवद्र्धन कक्ष, शैक्षिक सामग्री तथा पुस्तक प्रदर्शनी र स्थानीय तथा जातीय खानाका परिकार समावेश हुनेछन् । आयोजकका अनुसार महोत्सव अवधिभर दैनिक करिब २० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।

महोत्सवका मुख्य आकर्षणमा टिन प्रतियोगिता, ताजमहल र लण्डन ब्रिजको झल्को दिने सेल्फी पार्क, अत्याधुनिक बाल उद्यान, जलपरी मनोरञ्जन, साथै स्थानीयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारका सांस्कृतिक प्रस्तुति रहनेछन् । आयोजकका अनुसार बलिउड मेगा स्टार विनोद राठोडलगायत कलाकारहरूको प्रस्तुति पनि समावेश गरिनेछ ।

स्वास्थ्य सेवालाई समेत प्राथमिकता दिँदै न्यूरो अस्पताल विराटनगरको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिनेछ । सुरक्षा व्यवस्थाका लागि सीसी क्यामेरा, स्वयंसेवक परिचालन, २४ सै घण्टा सुरक्षा गार्ड, एम्बुलेन्स, स्वास्थ्य सेवा, बीमा सुविधा तथा निःशुल्क वाइफाइको व्यवस्था गरिएको संघका अध्यक्ष गजेन्द्र भगतले बताए ।

 

 

तपाईको प्रतिक्रिया