मोतिगडा । त्रियुगा नगरपालिका–३, मोतिगडामा अवस्थित श्री रामजानकी माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ६८औँ वार्षिकोत्सव भव्य कार्यक्रमको आयोजना गरी मनाएको छ।
स्थापना कालदेखि हालसम्म विद्यालयले अनेक उतार–चढाव पार गर्दै शैक्षिक यात्रालाई निरन्तरता दिँदै आएको प्राचार्य पुण्य कार्कीले कार्यक्रममा जानकारी दिनुभयो। उहाँका अनुसार विद्यालयले शैक्षिक गुणस्तर अभिवृद्धि गर्दै समुदायको विश्वास जित्न सफल भएको छ।
समारोहमा विद्यालयको विकास र विस्तारमा महत्वपूर्ण योगदान पु¥याउने स्थानीय जग्गादाता तथा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको विद्यालय स्रोतले जनाएको छ। साथै विद्यालयको शैक्षिक प्रगति, भावी योजना तथा समुदायको भूमिकाबारे समेत विस्तृत चर्चा गरिएको थियो।
कार्यक्रममा सहभागी अभिभावक र स्थानीयवासीहरूले विद्यालयको उन्नति तथा शैक्षिक गुणस्तर वृद्धिका लागि निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
विविध सांस्कृतिक कार्यक्रम, विद्यार्थी तथा अभिभावक भेलासहित विद्यालयले स्थापना दिवस समारोह सफलतापूर्वक सम्पन्न गरेको हो।







