

गाइघाट । मदन भण्डारी लोकमार्गअन्तर्गत उदयपुर खण्डमा बढ्दो सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ‘शुभयात्रा अभियान’ सुरु गरिएको छ । सुरक्षित सडक अभियान उदयपुरको आयोजनामा अभियन्ता रमा मगरको नेतृत्वमा गत मंगलबारदेखि एक हप्ते सडक सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो ।
चतरादेखि कटारी नगरपालिकासम्म फैलिएको करिब ११० किलोमिटर सडकखण्डमा पछिल्ला वर्षहरूमा दुर्घटनाको संख्या बढ्दै गएपछि स्थानीय समुदायको सक्रियतामा अभियान थालिएको संयोजक मगरले बताइन् । उनका अनुसार अभियान करिब एक सातासम्म सञ्चालन हुनेछ । “दुर्घटनाले धेरै परिवार प्रभावित भएका छन् । आफ्नै आँखाअगाडि दुर्घटनामा आफन्त गुमाउने, घाइते बोक्ने र सडकमा छरिएको पीडा देखेका छौँ । त्यसैले नागरिकस्तरबाट पनि सडक सुरक्षाबारे सचेतना फैलाउने प्रयास गरेका हौँ,” मगरले भनिन् ।
मदन भण्डारी लोकमार्गले बेलका नगरपालिका, चौदण्डीगढी नगरपालिका, त्रियुगा नगरपालिका, रौतामाई गाउँपालिका, उदयपुरगढी गाउँपालिका तथा कटारी नगरपालिकालाई जोडेको छ । यस सडकखण्डअन्तर्गत उदयपुरगढी गाउँपालिका–७ स्थित अँधेरी क्षेत्रलाई सबैभन्दा जोखिमपूर्ण मानिएको छ । घुमाउरो सडक, उकालो–ओरालो तथा तीव्र गति दुर्घटनाको मुख्य कारण रहेको ट्राफिक प्रहरीको भनाइ छ ।
अभियानमा सहभागी युवाहरू बिहान, दिउँसो र साँझ व्यस्त समयमा सडक किनारमा उभिएर चालकलाई सावधानी अपनाउन आग्रह गरिरहेका छन् । उनीहरूले हेल्मेट र सिटबेल्ट प्रयोग गर्न, तीव्र गति नियन्त्रण गर्न तथा मादक पदार्थ सेवन गरेर सवारी नचलाउन सन्देश दिइरहेका छन् । संयोजक मगरले सडक सुरक्षा केवल प्रहरीको जिम्मेवारी नभई सम्पूर्ण नागरिकको साझा दायित्व भएको बताइन् । “दुर्घटनाले हाम्रो समाजलाई प्रत्यक्ष असर गरिरहेको छ । त्यसैले सबै नागरिक सचेत हुन आवश्यक छ,” उनले भनिन् ।
अभियानमा जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुर र नेपाल प्रहरीको समेत सहकार्य रहेको छ । ट्राफिक प्रहरीले विद्यालयहरूमा सडक सुरक्षासम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ । विद्यार्थीमार्फत घर–घरमा सुरक्षित यात्राको सन्देश पु¥याउने उद्देश्य राखिएको प्रहरीले जनाएको छ ।
उदयपुरगढी गाउँपालिका–७ को अँधेरी झर्नादेखि जोगीटोलसम्मको तीन किलोमिटर सडकखण्ड सबैभन्दा जोखिमयुक्त क्षेत्रका रूपमा चिनिएको छ । लगातार घुम्ती, उकालो तथा ओरालोका कारण उक्त क्षेत्रमा दुर्घटना बढी हुने गरेको ट्राफिक प्रहरीको भनाइ छ । सडक दुर्घटना बढ्दै गएपछि सरोकारवालाले सडकको भौगोलिक अवस्थाबारे थप अध्ययन गर्न माग गर्दै आएका छन् । दुर्घटना न्यूनीकरणका लागि विभिन्न स्थानमा चेतनामूलक बोर्ड, कन्भेक्स मिरर, प्लास्टिक ड्रम तथा अँधेरी–जोगीटोल क्षेत्रमा ‘रम्बल स्ट्रिप’ समेत राखिएको छ ।
प्रहरीका अनुसार ठूला चारपांग्रे सवारीसाधन ब्रेक फेल भएर तथा मोटरसाइकल र साना सवारीसाधन तीव्र गतिका कारण दुर्घटनामा पर्ने गरेका छन् । उदयपुर खण्डमा करिब दुई दर्जन स्थानलाई दुर्घटनाग्रस्त क्षेत्रका रूपमा पहिचान गरिएको छ । बाकुन्द्रे खोला, मुस्कान चोक, घुम्ने, द्वार खोलापुल, इक्राहा, फुलजोर, भातिखर्क, झिल्केटोल, झोडा, अँधेरी–जोगीटोल, तिनचोके, बिजुले मोड, भुल्के तथा डाङडुङे मोडलाई उच्च जोखिमयुक्त क्षेत्र मानिएको छ ।





