गृहगुप्तचर, उदयपुर, जेठ १६

किशोरी तथा महिलामाथि हुने हिंसा न्यूनीकरण गर्ने उद्देश्यले डिजिटल सुरक्षा अभियान शुभारम्भ गरिएको छ। सामुदायिक रेडियो उदयपुरको १८औँ वार्षिकोत्सव तथा राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा किशोरी तथा महिलामाथि हुने हिंसा न्यूनीकरणका लागि डिजिटल सुरक्षा अभियान औपचारिक रूपमा सुरु गरिएको हो।

शनिबार आयोजित कार्यक्रममा अभियानको शुभारम्भ गरिएको हो। सामुदायिक रेडियो उदयपुर २०६६ साल जेठ १६ गते गणतन्त्र दिवसको अवसरमा सञ्चालनमा आएको थियो। उदयपुरको बासबारीस्थित होटल हिमालयनमा आयोजित कार्यक्रममा अभियान शुभारम्भ गरिएको हो।

महिला सशक्तिकरण स्रोत केन्द्र उदयपुरको आयोजनामा तथा जिल्ला प्रहरी कार्यालय उदयपुरको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो। कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवारले घोषणापत्र वाचन गर्दै अभियानको औपचारिक शुभारम्भ गर्नुभयो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक राजन चापागाईँ, बेलका नगरपालिकाकी उपमेयर जिरा राई लगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै किशोरी, महिला तथा युवाहरू अनलाइन हिंसा, साइबर दुरुपयोग, फेक आइडी, गोपनीयता उल्लंघन, ट्रोलिङ तथा डिजिटल ठगीजस्ता जोखिमबाट प्रभावित भइरहेका कारण डिजिटल सुरक्षाबारे जनचेतना अभिवृद्धि गर्न अभियान सुरु गरिएको आयोजकले जनाएको छ।

अभियान अन्तर्गत विद्यालयस्तरीय कार्यक्रम, समुदाय छलफल, रेडियो सामग्री निर्माण तथा प्रसारण, डिजिटल सुरक्षासम्बन्धी अनलाइन सामग्री उत्पादन र प्रचार, गीत–संगीत तथा कलामार्फत सचेतना कार्यक्रम सञ्चालन गरिने महिला सशक्तिकरण स्रोत केन्द्र उदयपुरकी कार्यकारी निर्देशक बन्दना दनुवारले जानकारी दिनुभयो। कार्यक्रममा डिजिटल सुरक्षासम्बन्धी जनचेतनामूलक गीत सार्वजनिक गर्नुका साथै गीतिनाटक र नृत्य प्रस्तुतिमार्फत सुरक्षित डिजिटल अभ्यासबारे सन्देश प्रवाह गरिएको थियो।

दोस्रो सत्रअन्तर्गत आयोजित युवा बहस कार्यक्रममा युवाहरूका प्रश्नको जवाफ दिँदै चित्र कुमार कार्कीले युवाका समस्याको दीर्घकालीन समाधान नीति निर्माण र प्रभावकारी कार्यान्वयनबाट मात्र सम्भव हुने बताउनुभयो। कार्यक्रममा अधिकारकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मी, किशोरी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया