गाईघाट ३ असाेज । त्रियुगा नगरपालिका–१० मा एलेभेन स्टार फुटबल क्लबको आयोजनामा स्वर्गीय खेलाडीहरूको स्मृतिमा दोस्रो एक्सट्रिम एलेभेन स्टार च्यालेन्ज कप–२०८३ सुरु भएको छ ।
नाइन–ए–साइड नकआउट प्रणालीमा सञ्चालित उद्घाटन खेलमा डिडिवाइसी बेल्टारले सिसवारी युथ क्लब सप्तरीलाई ४–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
डिडिवाइसीका सचिन खड्काले ह्याट्रिक गरे भने अनिस बस्नेतले एक गोल थपे। सिसवारीका लागि अर्जुन राणा मगरले एक गोल फर्काए। उत्कृष्ट प्रदर्शन गरेका सचिन खड्का म्यान अफ द म्याच घोषित हुँदै नगद १ हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिताअन्तर्गत भोलि गाईघाट युनाइटेड र रौतामाई स्पोट्र्स क्लब, मुर्कुची बीच दोस्रो क्वाटरफाइनल खेल दिउँसो ३ बजे हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँसहित ट्रफी र मेडल तथा उपविजेताले ३० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् ।






