उदयपुर । उदयपुरमा बसोबास गर्ने मल्ल आलेमगर समुदायको जिल्ला स्तरीय दशैँ शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ। दशैँको फूलपातीका अवसरमा असोज ३१ गते उदयपुरगढी गाउँपालिका–७ मा कार्यक्रम आयोजना गरिएको हो।
समाजसेवी तथा अगुवा कृष्णबहादुर मल्ल आलेमगरको पहल र अगुवाइमा आयोजित कार्यक्रममा उदयपुर जिल्लाका विभिन्न स्थानमा बसोबास गर्ने करिब ६० जना मल्ल आलेमगर समुदायका बुद्धिजीवी, शिक्षाप्रेमी, समाजसेवी, पूर्वजनप्रतिनिधि तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।
समुदायलाई संगठित गर्दै पुर्खाको वंशावली निर्माण गर्ने, भाषा, संस्कृति, परम्परा र पहिचानको संरक्षण गर्ने तथा सामाजिक सेवाका क्षेत्रमा एकजुट भएर अघि बढ्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको अगुवा कृष्णबहादुर मल्ल आलेमगरले जानकारी दिए।
उनका अनुसार विगतमा स्थापना गरिएको मल्ल आलेमगर सेवा समाजलाई प्रभावकारी बनाउँदै जिल्लाभित्र तथा देशका विभिन्न स्थान र विदेशमा रहेका समुदायका सदस्यहरूलाई समेत समेटेर सशक्त संगठन निर्माण गर्न आवश्यक छ।
कार्यक्रममा सहभागी पूर्वजनप्रतिनिधि निरबहादुर मल्ल आलेमगरले यस्ता भेटघाट कार्यक्रमलाई निरन्तरता दिँदै आगामी दिनमा व्यवस्थित र सशक्त रूपमा अगाडि बढाउनुपर्ने बताए। उनले मल्ल आलेमगर समुदायको संगठनलाई स्थानीय तह, जिल्ला, प्रदेश हुँदै राष्ट्रिय स्तरसम्म विस्तार गर्ने योजना रहेको जानकारी दिए।
त्यसैगरी, अगुवा बुद्धिजीवी तथा समाजसेवी गेशबहादुर मल्ल आलेमगरले समुदायका सदस्यहरू विभिन्न स्थानमा छरिएर बसोबास गर्दा भाषा, संस्कृति तथा पुर्खाको पहिचान र गौरव संरक्षणमा चुनौती थपिएको बताए। उनले भावी पुस्तामा पुर्खाको इतिहास, मौलिक संस्कृति र परम्परा हस्तान्तरण गर्दै तिनको संरक्षण तथा संवर्द्धन गर्न आवश्यक रहेको उल्लेख गरे।
पारिवारिक भेटघाट र फूलपाती पूजाको अवसरमा आयोजित कार्यक्रमले समुदायका सदस्यबीच आपसी सद्भाव, एकता र सहकार्य बढाउनुका साथै पुर्खाको पहिचान तथा सांस्कृतिक परम्पराको संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।







