गाईघाट । मधेसी समाज उदयपुरले विजया दशमी, शुभ दीपावली, छठ पर्व, रमजान तथा नेपाल संवत् ११४७ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
कोजाग्रत पूर्णिमाको अवसरमा त्रियुगा नगरपालिका–३, मोतीगडास्थित एम्पायर होटलमा आयोजित कार्यक्रममा त्रियुगा नगरपालिकाका नगरप्रमुख वसन्तकुमार बस्नेत प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।
विभिन्न चाडपर्व तथा नयाँ वर्षका अवसरमा आपसी सद्भाव, एकता र सामाजिक भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको मधेसी समाज उदयपुरका अध्यक्ष रामभक्त यादवले बताए ।
कार्यक्रममा सहभागी वक्ताहरूले विविध जातजाति, भाषा, संस्कृति र धर्मबीचको आपसी सद्भाव तथा एकतालाई थप मजबुत बनाउन यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा त्रियुगा नगरपालिकाकी उपप्रमुख महेश्वरी राई, अभियन्ता खेमनारायण यादव, जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष गजेन्द्र भगतलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा नगर क्षेत्रका मधेसी अधिकारकर्मीहरूको समेत बाक्लो सहभागिता थियो ।
उनीहरूले विजया दशमी, दीपावली, छठ पर्व, रमजान तथा नेपाल संवत् ११४७ का अवसरमा सबैमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेका थिए ।
विविध चाडपर्वले समाजमा आपसी सद्भाव, सहिष्णुता र सामाजिक एकता कायम गर्न सहयोग पुर्याउने सन्देशसहित कार्यक्रम सम्पन्न भएको थियो ।







