
नगर स्तरीय अन्तर माध्यमिक विद्यालय खेलकुद प्रतियोगिता
गाइघाट । त्रियुगा नगर युवा तथा खेलकुद विकास समितिको आयोजनामा पुस ११ देखि १४ गतेसम्म चाैथाे नगरस्तरीय अन्तर माध्यमिक विद्यालय स्तरिय खेलकुद प्रतियोगिता(मेयर रनिङ शिल्ड) सञ्चालन हुने भएको छ। नगरका संस्थागत तथा सामुदायिक विद्यालयका १८ वर्षमुनिका विद्यार्थीहरूबीच भलिबल, कबड्डी, एथलेटिक्स, कराते र तेक्वान्डोलगायतका खेलहरूमा प्रतिस्पर्धा गराइनेछ।
त्रियुगा नगर युवा तथा खेलकुद विकास समितिका अध्यक्ष किरण कार्कीका अनुसार नगरभित्र लुकेका खेल प्रतिभाको पहिचान, विकास र प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो। हालै नियुक्त अध्यक्ष कार्कीको सक्रियतामा आयोजना हुन लागेको यस प्रतियोगितालाई आगामी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारीका रूपमा समेत हेरिएको छ।
आयोजक समितिका अनुसार प्रतियोगिता गाइघाट स्थित थारुहट रगशालामा सञ्चालन गरिनेछ। यसबाट विद्यालयस्तरमै खेलकुद संस्कृति विकास हुनुका साथै विद्यार्थीहरूमा अनुशासन, स्वास्थ्य र प्रतिस्पर्धी भावना अभिवृद्धि हुने अपेक्षा गरिएको छ।





